सुष्मा र मेरो जोडी लामो समयसम्म जम्छः प्रमोद भारद्धाज


माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चलेस बतास सुस्तरी’का नायक प्रमोद भारद्धाज अहिले चर्चामा छन् । चलचित्रमा उनले बोलेको ‘मा कसम मलाई बचपन देखि नै हिरो बन्ने ठूलो सोख थियो’ भन्ने संवाद हिट छ । ‘सो सिम्पल’बाट नेपाली रजतपटमा भित्रिएका प्रमोद अब निरन्तर यसमै लाग्ने सोचमा छन् । उनै प्रमोदसँग गरिएको कुराकानीः १. चलचित्र भित्रको प्रमोद के हो ? सोझो, एउटा प्रेमी हो । केटा खुबै सोझो छ तर एक यूवतीलाई खुबै प्रेम गर्छ । २. चलचित्रले के भन्छ ? हामी दैनिक जीवनमा धेरै कुरा देख्छौ, भोग्छौ । तर, कतिपय आफ्नै अगाडि रहेका कुरा पनि महशुश गर्न सक्दैनौ । चलचित्रले यस्तै कुरालाई उठान गरेको छ । ३. चलचित्र भित्र प्रमोद नै चाहिन्थ्यो कि अरु कलाकार भएको भएपनि हुन्थ्यो ? अहिले चलचित्रको ट्रेलर र गीतले जुन खालको रेस्पोन्स पाएको छ, त्यो हेर्दा मलाई लाग्छ चलचित्रमा मेरै आवश्यकता थियो । चलचित्र खोजेको पात्रलाई मैले निर्वाहा गरेको छु, जसले गर्दा पनि ‘चलेस बतास सुस्तरी’मा हिरो बन्न खोज्ने पात्रमा म नै फिट छु भन्ने लाग्छ । ४. नायिका सुष्मा कार्कीसँगको जोडीलाई कसरी हेर्नुहुन्छ ? यो त दर्शकले छुट्याउने कुरा हो नि । तर, मलाई के लाग्छ भने सुष्मा र मेरो जोडी लामो समयसम्म नेपाली चलचित्रमा अगाडि बढ्छ । जसरी नेपाली चलचित्रमा केही कलाकारको जोडीको चर्चा हुन्छ, त्यसरी नै सुष्मा र मेरो जोडीको पनि चर्चा हुन्छ भन्ने लाग्छ । ५. तपाइको चलचित्रसँग आर्यन सिग्देल, नम्रता श्रेष्ठ, प्रदिप खड्का, पूजा शर्मा जस्ता कलाकारको चलचित्र पनि जुध्दैछ, यो भिडन्तलाई कसरी हेर्नुहुन्छ ? जब, प्रतिस्पर्धा हुन्छ राम्रा कलाकारसँग होस् भन्ने नै लाग्छ । सानासँग जित्न भन्दा ठूलालाई जित्नुको मज्जा नै वेग्लै हुन्छ । ६. तपाइको पहिलो चलचित्र ‘सो सिम्पल’ असफल भयो ? के यो चलचित्र गर्नु गल्ती थियो ? होइन, मैले यो चलचित्र गर्नु सही निर्णय थियो । सबै चलचित्र चल्दैमा राम्रो हुन्छ भन्ने पनि होइन । यो चलचित्रबाट मेरो कामको तारिफ भएको थियो । यही चलचित्रले मलाई नेपाली रजतपटमा भित्राउने काम पनि गरेको हो । जतिबेला यो चलचित्र चलेको थियो, अन्य चलचित्रसँग भिडन्त थियो । सो समयमा हिसाब बाँडियो र हाम्रोमा पनि कम देखियो । ७. अब, आफ्नो करिअरलाई कसरी अगाडि लानुहुन्छ ? म यही क्षेत्रमा नै निरन्तरता दिन्छु । ‘सो सिम्पल’मा काम गरेपछि लामो समय ग्याप गर्नुको कारण पनि राम्रो चलचित्रको खोजी थियो । थोरै काम गर्छु तर राम्रा चलचित्र गर्छु । ८. तपाइको दाज्यू प्रदिप भारद्धाज कुनै न कुनै रुपमा तपाइले काम गरेका चलचित्रमा जोडिनु भएको छ, कहिले तपाई यसबाट बाहिर जाने ? होइन, हामी दाजुभाई हौं, अलग हुने त कुरा नै आउँदैन । उहाँले लेखेका हुन् या अरुले लेखेका, राम्रो कथावस्तु आयो भने काम गर्छु । ९. तपाइको नजरमा कस्ता स्त्रिmप्ट राम्रा हुन् ? मलाई कुनै पनि कथा ‘चामल’ जस्तो होस् भन्ने लाग्छ । एउटा राम्रो चामललाई भात, जाउलो, फ्राई जे बनाउन पनि सकिन्छ । तर, विदेशबाट चोरिएको कथा नहोस् । दर्शकलाई मनपर्ने कथालाई नै म राम्रो कथा मान्छु

0 comments

Write Down Your Responses